पत्रकार महासंघ कास्कीको अध्यक्षमा विमला भण्डारी विजयी, महासंघमा पहिलो पटक महिला नेतृत्व

पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाको निर्वाचनबाट अध्यक्ष पदमा बिमला भण्डारी विजयी हुनुभएको छ । शाखाको निवर्तमान उपाध्यक्ष समेत रहनुभएकी भण्डारी १७४ मतका साथ विजयी हुनुभएको हो ।
नेपाली काँग्रेस निकट प्रेस यूनियनको नेतृत्व गर्नुभएकी उहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर र नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधव नेपाल समूहको प्रेस चौतारी लगायतका संगठनहरुको गठबन्धनको उमेदवार हुनुभएको थियो ।
उहाँले प्रेस चौतारी र प्रेस मञ्च गठबन्धनका केशवशरण लामिछानेलाई ५३ मतले पराजित गर्न सफल हुनु भएको हो । भण्डारी विजयी भएसँगै महासंघले पहिलो पटक अध्यक्षको रुपमा महिला नेतृत्व पाएको छ ।
लामिछानेले नेपाल कम्युनिष्ट पार्टी एमाले निकट प्रेस चौतारी र अन्य संगठनहरुको गठबन्धनको नेतृत्व गर्नुभएको थियो ।
त्यस्तै खुल्ला उपाध्यक्षमा भण्डारी प्यानलकै रामप्रसाद तिमिल्सिना विजयी हुनु भएको छ । उहाँले चौतारीका अर्जुन गिरीलाई ५० मतको अन्तरले पराजित गर्नु भएको हो । तिमिल्सिनाले १७२ मत प्राप्त गर्दा गिरीले जम्मा १२२ मत प्राप्त भएको थियो ।
महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले १५१ प्राप्त गर्दा अर्की प्रत्यासी रबिना आलेमगरले १४३ मत पाउनु भएको छ ।

सचिवमा माधब बराल १५५ मतका साथ विजयी हुनुभएको छ । सो पदका अर्का प्रत्यासी दीपक परियारले १४१ मत ल्याउनु भएको छ।

सहसचिव खुल्लातर्फ श्रीराम सिग्देल विजयी हुनुभएको छ । सिग्देलले १७७ मत ल्याउँदा अर्का प्रत्यासी एमबी आस्था मगरले ११५ मत पाउनुभएको छ ।

सहसचिव समावेशीतर्फ रेम बिक १६८ मतका साथ विजयी हुनुभएको छ । सोही पदका प्रत्यासी दीपक के. श्रेष्ठले १२४ मत प्राप्त गर्नु भएको हो ।

कोषाध्यक्षमा कृष्ण दवाडी विजयी हुनुभएको छ । दवाडीले १७७ मत प्राप्त गर्दा अर्का प्रत्यासी एकराज गिरीले ११३ मत पाउनुभएको छ ।

विजयी हुनुभएका पदाधिकारीहरु मध्ये शर्मा र बराल चौतारीबाट प्रत्यासी बन्नुभएको थियो भने सिग्देल नेपाल निकट प्रेस चौतारीबाट प्रत्यासी हुनुभएको थियो। बिक प्रेस युनियन र दवाडी प्रेस सेन्टरबाट प्रत्यासी बन्नुभएको हो ।

सदस्य महिला तर्फ सपना अधिकारी १४८ मत, दलित सदस्यमा विजय नेपाली १५६ मत, सदस्य जनजातिमा पदम श्रेष्ठ १५७ मत, अन्य समावेशी तर्फ जैनव खातुनले १८३ मत प्राप्त गरी विजयी हुनु भएको छ । त्यसैगरी शाखाको सदस्यहरूमा धन बहादुर गुरूङ (सुमन) १५२ मत, शिवराज बस्ताकोटी १४३ मत, हरि पन्त १३५ मत, युवराज गुरूङ (युनिश) १३१ मत, कञ्चन थापा १३० मत, गीता राना मगर १२९ मत, सन्तोष सुवेदी १२९ मत, प्रभु अधिकारी १२८ मत, सन्तोष बस्याल १२४ मतकासाथ विजयी हुनुभएको छ ।

राष्ट्रिय परिषद सदस्य जनजातितर्फ राजबहादुर गुरूङ १६३ मत, खुल्लातर्फ कमल पौडेल अथक १५० मत, श्यामनाथ कुँवर १४२ मत, आरजु बिष्ट सल्यानी १२६ मत र गंगाधर पराजुली १२६ मतका साथ विजयी बन्नुभएको छ ।

Facebook Comments Box