पत्रकार महासंघमा विपुल पोखरेल नेतृत्वको टिम नै विजयी, महासंघमा दलीय प्रभाव हुन नदिने पोखरेलको प्रतिवद्धता

पोखरा । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी हुनुभएको छ । महासंघको अन्य पदाधिकारी पनि पोखरेल प्यानलकै निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चोतारीसहित ११ सङ्गठनको साथ पाएका पोखरेलले आफ्ना प्रतिद्वन्दी भन्दा झण्डै २ हजार बढी मत लिएर विजयी हुनुभएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरी निर्वाचित भएका छन् ।
यस्तै खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदीवासी जनजातीतर्फबाट सचिवमा नारायण सुन्दर किलम्बु निर्वाचित भएका छन् ।
यस्तै मधेसीतर्फको सचिवमा दिपेन्द्र चौहान, दलिततर्फ सचिवमा हेमकणर् विक, सचिव एशोसियटमा पवन आचार्य र कोषाध्यक्षमा कुलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोखरेल प्यानलबाट निर्वाचित भएका हुन् ।
यसैगरी लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन्।


त्यस्तै नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले महासंघको निणर्य प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
यस्तै श्रमजीवि पत्रकारहरुको हक हितका मुद्दाहरुलाई अगाडी लैजाने सम्बन्धमा आफूले कहिं कतै सम्झौता नगर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ ।
यस्तै नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिवद्धता जनाउनुभएको छ । महासंघलाई पत्रकारहरुको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने पनि बताउनु भयो ।
अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो । त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

Facebook Comments Box