नेपाली रेस्लरहरु चैत्र २० र २१ गते पोखरामा भिड्ने

पोखरा । नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले पोखरामा चैत २० र २१ गते दोस्रो संस्करणको राष्ट्रिय रिङ रेस्लिङ प्रतियोेगिता हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा हुने भएको छ ।
प्रतियोगितामा देशका १४ जिल्लाका खेलाडीले प्रतिस्पर्धामा रेस्लिङमा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोनलगाएत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुले ३ वटा वेट क्याटोगरीमा प्रतिष्पर्धा गर्ने भएका हुन ।

रेस्लिङमा २२ वर्षदेखि ३८ वर्षसम्मका खेलाडीले भाग लिने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवणर् श्रेष्ठले जानकारी दिनु भयो । कोभिडका कारण अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउन नसकिएको समेत उनले बताउनु भयो । दुई दिनसम्म हुने रेस्लिङ प्रतियोगिता हेर्न प्रवेश शुल्क १ सय र २ सय तोकिएको संघकी महासचिव श्रेष्ठले जानकारी दिनु भयो । उहाँले नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडी उत्पादनसँगै निरन्तर तालिमको व्यवस्था गर्न रिङ रेस्लिङ एकेडेमीको स्थापना गरिएको समेत बताउनु भयो ।

त्यस्तै राखेप सदस्य राजेश गुरुङले रेस्लिङ खेलको विकासको लागि योगदान दिँदै आएको नेपाल रिङ रेस्लिङ संघलाई धन्यवाद दिनु भयो ।
त्यसैगरि गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले यस्ता प्रकारका प्रतियोगिता सम्पन्न गर्न पोखरालाई रोज्नु भनेको गण्डकी प्रदेशकै गौरवको कुरा भएको बताउनु भयो । पोखरालाई खेलकुदको राजधानी भनिरहेकै अवस्थामा यस्ता प्रतियोगिताले थप इट्टा थप्ने काम गरेको उहाँको भनाई छ ।
सङ्घले यसअघि विसं २०७३ फागुन १८ देखी २१ गतेसम्म पोखरामा नेपाल भारत मैत्रीपूणर् प्रतियोगिता र विसं २०७४ फागुनमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको स्थानीय व्यवस्थापक लुना गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद रु १ लाख सहित च्याम्पियन बेल्ट र दोश्रो हुनेले नगद रु ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगितामा करिब २९ लाख खर्च हुने आयोजकले जनाएको छ । साथै दर्शकलाई थप मनोरञ्जन दिन नेपालका हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहने आयोजकले बताएको छ ।
रेस्लिङ खेलको विकासका लागि खेलाडी उत्पादन र निरन्तर तालीमका लागि रिङ रेस्लिङ एकेडेमीको स्थापना गरिएको र सो एकेडेमीमा नेपालमा चर्चित रेस्लर नुवाकोटे टाइगर(कमल तामाङ)ले नियमित खेलाडीहरुलाई प्रशिक्षण दिँदै आउनुभएको बताइन्छ ।खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिनका लागि सङ्घले वैदेशिक प्रशिक्षणको व्यवस्था गरेको संघले जनाएको छ ।
प्रशिक्षक तामाङले नेपालमा रेस्लिङ खेलप्रति दर्शककले माया दिँदै आएको बताउँदै चीन, अमेरिका र जापानबाट तालीम लिएर आफूले प्रशिक्षणको कार्य गर्दै आएको बताउनुभयो ।

Facebook Comments Box