निजी क्षेत्रसँग सहकार्य गर्न सरकार आतुर ः मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताउनु भएको छ ।
पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने भनाइ राख्नु भएको हो । उहाँले लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार के गर्नुपर्छ हामीलाई सुझाव चाहिएको छ, हाम्रो क्षमताले भ्याएसम्म सहकार्य गर्न सरकार तयार रहेको बताउनु भयो ।
उहाँले युवाहरुलाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले व्यवसाय र उद्योगसँग अहिले प्रविधि जोडिएको भन्दै प्रविधिकै कारण लागत मूल्य कम पर्ने र उपभोक्तासम्मले अनुकुल मूल्यमा सामान प्राप्त गर्न सक्ने भनाइ राख्नु भयो ।
पोखरेलले राजनीतिक घटनाक्रमका बीच गण्डकीमा नयाँ सरकार बने पनि अघिल्लो सरकारले गरेका कामको स्वामित्व लिएर आफूहरु अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले कोरोनाबाट थलिएका साना व्यवसायीका लागि ल्याइएको जीवन रक्षा कोषलाई थप प्रभावकारी बनाएर लगिने बताउदैं प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न सरकारले काम थालिसकेकोे जानकारी गराउनु भयो ।
कोरोना महामारिले हाम्रो समग्र जीवनलाई थला पारेको भन्दै उहाँले यो विषम परिस्थितिबाट उन्मुक्ति पाउने उपाय कोरोना विरुद्धको खोप नै हो । यो सरकार गठन भएदेखि नै सबै प्रदेशबासीलाई खोप उपलब्ध गराउने कुरामा प्रतिबद्ध रहँदै आएको र सरकारले आवश्यक बजेटको समेत प्रबन्ध गरेको छ भने खोप हासिल गर्नका लागि प्रयत्नहरु गर्दै आएको प्राथमिकता र माग अनुसार प्रदेशमा खोपको व्यवस्थापन गर्दै आएको बताउनु भयो ।
लगानीबाट मात्र उत्पादन, रोजगारी र आम्दानीको ढोका खुल्ने तथ्यका प्रति यो सरकार स्पष्ट रहेको भन्दै उनले लगानी गर्ने र व्यवसाय गर्ने अनुकुल वातावरण निर्माण गरी निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढन सरकार आतुर रहेको बताउनु भयो ।
उत्तरको कोरोला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नुपर्ने भन्दै उनले यसका लागि संघ सरकारसँग सहयोग मागिरहेको बताउनु भयो । पोखरामै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको भन्दै उनले यसबाट अधिकतम लाभ लिन आजैबाट तयारी थाल्नुपर्ने बताउनु भयो । पर्यटन मात्र होइन अरु सबै खालका व्यवसाय प्रवद्र्धनमा यो विमानस्थलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उहाँले भनाइ राख्नु भयो ।
पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि संघ सरकारले काम थालिसकेको भन्दै उनले यसपछि गण्डकी प्रदेश र राजधानी पोखराको आर्थिक गतिविधि थप मजबुत हुन बताउनु भयो । पारदर्शिता, सुशासन र उत्तरदायित्वको भावनालाई मूर्तरुप दिन खर्च प्रणालीमा मितव्ययिता र पारदर्शितामा सरकार प्रतिबद्ध रहेको पनि बताउनु भयो ।
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रतिकुल समयबीच व्यवसायीहरु रहेको भन्दै उनीहरुको वाध्यता आफूले बुझेको बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले स्रोत र आवश्यकताबीच धेरै खाडल रहेको भन्दै यही चुनौती खेपेर सरकारले काम थालेको बताउनु भयो । २१ अर्ब केन्द्रको अनुदान हुँदा हामीले ३० अर्बको बजेट ल्याउनुपर्ने वाध्यता औंल्याउँदै आन्तरिक राजश्व वृद्धि नगर्दासम्म प्रदेशमा ठूला परियोजना परिकल्पना गर्न नसकिने उहाँको भनाइ थियो । बजेट वितरणमा संघ सरकार अनुदार रहेको भन्दै उनले यो प्रक्रिया संघीय लोकतान्त्रिक पद्धतिकै प्रतिकुल रहेको बताउनु भयो ।
अर्थमन्त्री रामजी बराल जीवनले सानो बजेट लिए सरकार अगाडि बढेको भन्दै निजी क्षेत्रलाई साथमै लिएर आफूहरुले काम गर्ने बताउनु भयो ।
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले व्यवासायीहरुलाई खोप प्रदान गर्न लागि परेको भनाइ राख्नुभयो ।
कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले सरकार आफैले व्यापार व्यवसाय गर्न नसक्ने भएकाले त्यस्तै खालको वातावरण बनाउनुपर्ने बताउनु भयो । व्यवसायीहरु अहिले चौतर्फी मारमा परेको भन्दै उहाँले तर पनि उनीहरुको पहिलो माग खोप नै रहेको भन्दै यसका लागि प्रदेश सरकारले सहजीकरण गरिरहेको बताउनु भयो । कम्पनी रजिस्टारको कार्यालय पोखरामा ल्याउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले समावेशिताका आधारमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रदेशको राजधानी पोखराको समग्र विकासका लागि सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताउनु भयो । पोखरा लगायत आसपासमा तीब्र सहरीकरण भइरहेको भन्दै उहाँले यसतर्फ पनि बेलैमा सोच्न आग्रह गर्नुभयो । पोखरा चक्रपथको आवश्यकता महसुस गरी आयोजना अगाडि बढाउन उहाँले सुझाव दिनु भयो ।
उहाँले निजी क्षेत्रलाई साथमै लिएर विकासको पथमा लम्कन आग्रह गर्नुभयो । अरु प्रदेशभन्दा गण्डकीको बजेट कम भएको, विदेशी लगानी समेत कम भएको भन्दै यसका लागि प्रदेश सरकारले संघ सरकारसँग लबिङ गर्न पछि पर्न नहुने भनाइ उहाँले राख्नुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहे पनि उडान भर्ने रुटका बारेमा अझै निर्णय हुन नसक्दा अलमल भएकाले यसमा प्रदेश सरकारले पहल गर्नुपर्ने भनाइ राख्नुभयो ।


नेपाल उद्योग वाणज्य महासंघ केन्द्रीय सदस्य बाबुराम गिरीले चुनौतीबीच आएको अहिलेको सरकारबाट आफूहरुले धेरै अपेक्षा गरेको बताउनु भयो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सहजरुपमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै प्रदेश सरकारसँग संघ सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भनाइ राख्नु भयो ।
कार्यक्रम संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले कोरोनाले मारमा परेका व्यवसायीलाई उकास्ने गरी सरकारले पहल थाल्नुपर्ने भनाइ राख्नु भयो ।
कार्यक्रममा शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, जलस्रोत, सिँचाइ तथा ऊर्जा मन्त्री हरिशरण आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा, वन तथा वातावरण मन्त्री दीपक थापालाई सम्मान गरिएको थियो ।

Facebook Comments Box