तेह्रथुमको गाउँमा चिया उद्योग स्थापनापछि किसानहरूमा उर्जा


धनकुटाको हिले नै पुर्‍याएर हरियो चियापत्ति बिक्री गर्नु पर्ने यहाँका किसानको बाध्यता अन्त्य भएको छ । अहिले तेह्रथुमको गाउँ-गाउँमा पायक पर्ने स्थानमा चिया उद्योग खोलिएकाले किसानहरूलाई राहत मिलेको छ । किसानले उत्पादन गरेको चियापत्ति बिक्रीका लागि धनकुटा नै पुग्नु पर्ने उनीहरूको बाध्यता थियो ।
खासगरी बर्षादको समयमा पत्ति उद्योग सम्म पुर्‍याउनुपर्दा यहाँका चिया किसानले हैरानी व्यहोर्दै आएका थिए । चिया किसानहरूको सक्रियतामा गाउँ मै चिया प्रशोधन उद्योग स्थापना भएपछि तेह्रथुमका चिया किसानहरू हौसिएका छन् । लालिगुराँस नगरपालिकाका किसानहरूलाई पनि यसरी गाउँमै उद्योग स्थापना भएपछि केहि राहत मिलेको छ । गाउँमै उद्योग स्थापना भएपछि गुणस्तरीय चिया उत्पादन हुन थालको सञ्चालक बिरबहादुर बस्नेतको भनाइ छ ।
खेतीयोग्य जमिन मासेर यहाँका किसानहरू चिया खेती गर्दै आएका छन । सुरु सुरुमा उत्पादन भएको चियापत्ति बिक्री नुहँदा निराश भए पनि अहिले भने चिया खेतीमा नै उनीहरूले उज्वल भविष्य देख्न थालेका छन् । उद्योग स्थापना भएपछि आफूले उत्पादन गरेको चिया बिक्रीमा समस्या नुहने चिया किसान बिष्णुमाया सुवेदीको आशा छ ।
यहाँका किसानहरू चिया बगानमै रमाई रहेका छन् । चियाको पत्तिबाट राम्रो आम्दानी लिँदै आएका छन् । उद्योग स्थापना सँगै जिल्लाको हरियो चियापत्ति बाहिरी जिल्लामा निर्यात गर्नुपर्ने समस्या पनि अन्त्य भएको छ । उन्नति परियोजना र सिंहदेवी चिया सहकारी संस्थाको साझेदारीमा २ करोड रुपैयाँको लगानीमा उद्योग स्थापना गरिएको सहकारी संस्थाका अध्यक्ष टेकबहादुर केप्छाकी मगर बताउनुहुन्छ ।
उत्पादन भएको चिया नेपालको विभिन्न् क्षेत्र, भारत तथा तेस्रो मुलुकमा बिक्री हुँदै आएको छ । यहाँ तयारी भएको चिया ७ सय देखी १ हजार रुपैयाँ सम्म बिक्री हुँदै आएको छ । त्यस्तै हरियो चियापत्ती ६५ रुपैयाँ देखी ५ सय रुपैयाँ सम्म उद्योगले खरिद गर्दै आएको छ । त्यसैले पनि उद्योग स्थापनापछि किसानहरूमा उर्जा थपिएको छ । (प्रकाश लिम्बु)

Facebook Comments Box