तुलसी दिवस र दुर्गा घिमिरेलाई १/१ लाखको पुरस्कार

पोखरा । संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरे पोखरामा एक साथ पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा दिवस र घिमिरे पुरस्कृत हुन लागेको हुन् ।
समितिले प्रत्येक २/२ वर्षमा यो पुरस्कार प्रदान गर्दै पुरस्कारको राशी १ लाख रुपैयाँको छ । घिमिरेलाई २०७६ सालमै यो पुरस्कार दिने घोषणा गरिएको थियो । तर, कोरोना माहामारीका कारण पुरस्कार प्रदान गर्न कार्यक्रम रोकिएको थियो । २०७८ सालको पुरस्कार संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवसलाई दिन लागिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।


१९९८ असारमा धनकुटामा जन्मिएका दिवस २९ वर्षको उमेरमै प्राज्ञ हुनु भएको थियो । उनी नेपालकै कान्छा प्राज्ञ हुनुहुन्छ । सानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षको अध्ययनसँगै साहित्यतर्फ मोडिएका थिए भने संस्कृतिको अनुसन्धान पनि अगाडि बढाउनु भएको थियो ।
लामो समय प्राध्यापकमा समेत बिताएका दिवसले विभिन्न जातजाती र संस्कृतिको अनुसन्धान गर्नु भएको छ । त्यहीबीचमा दिवसमा गेस्ट कल्चरल प्रोफेसर भएर विभिन्न देश तथा प्रख्यात विश्वविद्यालयमा जानुभएको छ ।
जापान, कोरिया, बेलायत, अमेरिकाजस्ता दर्जन देशमा लोकवार्ता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएका दिवसका नेपाली लोक कथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोक संस्कृति, धिमाल लोकधर्म र संस्कृति, तुलसी दिवसका कविता, भारतबाट तुलसी दिवसकि कविताएँजस्ता कृतिहरु प्रकाशित छन् ।
दिवसले सन् १९७४ र १९७८ मा लोकसंस्कृति विषयमा अमेरिकाको इष्ट वेस्ट सेन्टर, हवाई राज्यबाट र सन् १९७६/१९७७ र १९९६ मा जापानको टोकियो विश्व विद्यालयबाट लोक साहित्य र संस्कृति सम्बन्धमा उच्च क्षिक्षा हासिल गर्नुभएको हो ।
त्यसरी नै उहाँले गाकुसुमन विश्वविद्यालय टोकियो जापानबाट लोकवार्ता शास्त्रमा पोष्ट ग्राजुएट डिप्लोमाको शिक्षा पनि हासिल गर्नुभएको छ । दर्जनौं पुरस्कार, पदक र सम्मानबाट पुरस्कृत दिवस २४ वर्षको उमेरबाटै प्राध्यापन थाल्नु भएको थियो ।
घिमिरे ४ दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील हुँदै आउनु भएको छ । ‘घिमिरेले महिला बेचबिखन तथा सशक्तिकरणको क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको छ । उहाँको योगदानको कदर र महिला सशक्तिकरणका क्षेत्रमा अरुलाई पनि लाग्न अभिप्रेरित गर्न यस वर्षको पुरस्कार घिमिरेलाई दिने निर्णय भएको छ,’ समितिका सचिव तीर्थले भने, ‘कोभिडका कारण प्रदान गर्ने मिति तलमाथि भएको छ ।’
२००५ साल वैशाख ३ गते सुनसरीको धरानमा जन्मनु भएको दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालयवाट सन् १९७० मा अर्थ शास्त्रमा एम.ए. र १९७५ मा त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गर्नुभएको छ । २०३३ सालदेखि सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा उहाँ क्रियाशील हुनुहुन्छ ।
मानव अधिकार, चेलिबेटी बेचबिखनको विरुद्धको अभियानमा सबैभन्दा पहिला राष्ट्रिय रुपमा वहसको विषय बनाई उठान गर्ने पहिलो व्यक्तिका रुपमा घिमिरेलाई हेरिन्छ । २०४४ सालमा एबीसी. नेपाल नामक गैरसरकारी संंस्थाको स्थापना गरी महिला बेचबिखनविरुद्ध लाग्नु भएको थियो । घिमिरेले हालसम्म ३ हजारभन्दा बढी चेलीहरुको उद्धार तथा समाजमा पुनस्थापना गरी उनीहरुको जीवनलाइ रुपान्तरण गर्न सफल गर्नुभएको छ ।
महिला उत्थान लगायतका क्षेत्रमा उल्लेखनीय काम गरे वापत घिमिरेले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरष्कार प्राप्त गर्नुभएको छ । घिमिरेले अधिकार क्षेत्रमा विभिन्न माध्यमबाट कलम पनि चलाउँदै आउनु भएको छ ।
विन्ध्यवासिनी क्षेत्र विकास समितिले प्रथम पटक २०७३ सालमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो पटक २०७५ मा गलेश्वर पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजले यो पुरस्कार पाउनु भएको थियो ।
पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानबाट संस्थापित तथा समितिवाट संञ्चालित छ ।

Facebook Comments Box