टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकीले पुरुष,नेपाल पुलिस क्लबले महिलातर्फ उपाधि जिते

पोखराः टाइगर गु्रप अफ पोखराको आयोजनामा मंगलबारदेखि आयोजना भएको टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता समापन भएको छ।
फरक क्षमता भएका तथा जेष्ठ नागरिक, पत्रकारहरुलाई छुट्टै बस्नको लागि व्यवस्था भएपनि दर्शकहरुको चापले गर्दा आयोजकलाई दर्शकहरु सम्हाल्न हम्मे-हम्मे परेको थियो।


नेपालमा भएका भलिबल खेलाडीहरुको बाहुल्यता भएको त्रिभुवन आर्मी तथा विभागिय टोलीलाई घरेलु टिम गण्डकीले पुरुष तर्फको उपाधि जितेको छ।
पोखरा रंगशाला भलिबल कोर्टमा भएको प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिप फाइनलमा घरेलु टोली गण्डकीले आर्मीलाई ३-२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। पहिलो सेटको खेलमा केही समय कमजोर देखिएको गण्डकीको टिम १२ र आर्मी १८ बाट एकाएक गण्डकीले उत्कृष्ट प्रदर्शन गरेको थियो।
निकै प्रतिस्पर्धात्मक फाइनलमा गण्डकीले पहिलो, तेस्रो र पाँचौं सेटमा जित निकाल्दै च्याम्पियन बनेको हो। घरेलु समर्थकको राम्रो साथ पाएको गण्डकीले त्यसको फाइदा उठाउँदै अन्तिम सेटमा आर्मीलाई स्तब्ध पार्दै उपाधि जितेको हो।
दोस्रो सेटमा आर्मीले गण्डकीलाई २५-२१ ले हराएको थियो। तेस्रो सेटमा गण्डकीले आर्मीलाई ३२-३० ले हराएको थियो। चौथो सेटमा आर्मीले गण्डकीलाई २५-२३ ले हरायो भने पाँचौं सेट अर्थात् निणर्ायक फाइनल सेटमा गण्डकीले आर्मीलाई १५- ११ ले हराउँदै उपाधि जितेको हो।
विजेता गण्डकीले १ लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता आर्मी क्लबले ७५ हजार, तृतीय भएको टिम नेपाल पुलिस क्लबले ३५ हजार र सान्त्वना भएको टिम सशस्त्र प्रहरीको एपिएफ क्लबले १५ हजार सहित उपाधिहरु प्राप्त गरेका छन्। विभागीय टोली आर्मीलाई स्तब्ध पार्दै गण्डकी प्रदेशबाट खेलेका ओपन स्पाइकर घनश्याम चौधरी सर्वोत्कृष्ट खेलाडी चयन भएका छन उनले नगद २० हजार सहित ट्रफि प्राप्त गरे। पुरुषतर्फ उत्कृष्ट ब्लकर त्रिभुवन आर्मीका हरि अधिकारी, उत्कृष्ट सर्भर आर्मीकै शरण समारी क्षेत्री, उत्कृष्ट स्पाइकर आर्मीका दानबहादुर भट्ट क्षेत्री, उत्कृष्ट सेटर गण्डकी प्रदेशका सुजन चोखाल, उत्कृष्ट डिफेन्डर गण्डकीका राजन दर्लामी मगर चुनिए। गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए। उनिहरुले नगद ५-५ हजार र ट्रफि पाएका थिए।
नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधि जितेको छ।
महिला भलिबल खेलाडीको टिम होङ्गाजी न्यू डायमण्ड स्पोर्ट क्लव सेमिफानल खेलमा एक सेट जित मात्र हात पारेमा फाइनलमा प्रवेश गर्ने भएपनि लगातार ३ सेट पराजित हुँदा डायमण्ड वाहिरिएको थियो भने त्रिभुवन आर्मी क्लबको महिला टिम लगातार पराजित हुँदा सेमिफाइनल खेल समेत खेल्न पाएको थिएन।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो। पुलिसले पहिलो सेटमा एपिएफलाई २५-२२, दोस्रो सेटमा पनि २५-२२ र तेस्रो सेटमा पुलिसले सुरुवात देखिनै उत्कृष्ट प्रर्दशन गर्दै २५-२१ ले हराउँदै उपाधि जितेको हो।
विजेता पुलिसले १ लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता एपिएफ क्लबले ७५ हजार, तेस्रो स्थानमा रहेको डायमण्ड क्लबले ३५ हजार र सान्त्वना भएको त्रिभुवन आर्मी क्लबले १५ हजार सहित उपाधिहरु प्राप्त गरेका छ।
नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी महिलातर्फ सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। नेपाल पुलिस क्लबलाई उपाधि जिताउन महत्वपूणर् प्रर्दशन गरेकी उषा सर्वोत्कृष्ट खेलाडी चुनिएकी हुन्। उनले नगद २० हजार र ट्रफी पाइन्। उत्कृष्ट ब्लकर नेपाल एपिएफकी हिरा केसी, उत्कृष्ट सटर पुलिसकी कमला पुन, उत्कृष्ट सर्भर न्यु डायमन्ड क्लबकी प्रतिभा माली, उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट डिफेन्डर पुलिसकी सान्तिकला तामाङ चुनिए भने रुपेश विष्ट महिला भलिबलका उत्कृष्ट प्रशिक्षक भएका थिए। अवार्ड जित्ने उनिहरुलाई ५-५ हजार र ट्रफि पाएका थिए।

Facebook Comments Box