गायन सँगै अभिनयमा सन्तोष बस्याल, “माछापुच्र्छे हिमचुलीको” म्युजिक भिडियो सार्वजनिक (भिडीयो सहित)

पोखरा । गायक सन्तोष बस्यालको “माछापुच्र्छे हिमचुलीको” म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामजी घिमिरेको शब्द र सागर शाह ‘एनजे’ को संगीत रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सार्वजनिक गरिएको हो ।

भिडियोमा गायक सन्तोष सँगै मोडल शर्मिला अधिकारी, वर्षा क्षेत्री, सबिन गायक र नबु सुवेदीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई चर्चित निर्देशक नेत्र गुरुङले निर्देशन गर्नु भएको हो । पोखरा आसपासका रमणीय स्थानमा छायाँकन गरिएको म्युजिक भिडियो नेत्र इन्टरटेन्मेन्टको अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको होे ।

गीतमा पोखराको महिमालाई प्रस्तुत गरिएको गीतकार रामजी घिमिरेले बताउनुभयो । उहाँले करिब दुई वर्ष अगाडि नै गीतको अडियो रेकर्ड गरेकोलव्यस्तताका कारण अष्ट्रेलिया जानुपरेकाले त्यसपछि काम रोकिएको कारण गत वर्ष म्युजिक भिडियो छायाँकन गरेको तर कोरोना महामारीका कारण रिलिज रोकिएकोले अहिले आएर समय बताउनुभयो ।

संगीतकार सागर शाह एनजेले रामजी घिमिरे आफुले चिनेको पुराना गीतकार भएको उल्लेख गर्दै पोखरा सम्बन्धी गीत निर्माण गर्ने चाहना आफ्नो पहिले देखि भएको र समय अहिले जुरेको बताउनुभयो । उहाँले हाल आफु विदेश रहेता पनि संगीत गरेको गीत सार्वजनिक हुँदा खुशी लागेको बताउनुभयो । उनहाँे गायक सन्तोष बस्यालको गायिकीको प्रशंसा गर्नु भयो ।

गायक सन्तोष बस्याल अग्रज गीतकार र संगीतकारसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै पोखरामा बसेर पोखराको गीत गाउने रहर आफ्नो पहिले देखिको भएता पनि अहिले आएर सपना पुरा भएको बताउनुभयो ।
पहिले देखिको पोखराको गीत गाउने सपना अहिले पुरा भएको बताउदैं १० वर्षको पोखरा बसाईको यात्रामा अहिले सम्म समय नजुरेको तर गीतकार रामजी घिमिरे बुवाको शब्द मार्फत अवसर जुरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले गीत रिलिज हुँदा संगीतकार दाई सागर शाह एनजेलाई धेरै सम्झिरहेदैं गीतले पोखरेलीको मन छुनेमा विश्वस्त हुनुहुन्छ ।

म्युजिक भिडियोका निर्देशक नेत्र गुरुङले गीतको मर्मलाई मर्न नदिने गरी भिडियो निर्माण गरिएको जानकारी गराउनु भयो । यस्ता गीत आजको भोली नै हिट हुने भन्दा पनि भेगीय रुपमा मन पराइने भनाई उहाँको छ । गुरुङले ‘माछापुच्छे« हिमचुलीको’ गीतले पोखराको माटो बोलेको बताउनुभयो । म्युजिक भिडियोलाई नेत्र गुरुङले छायाँकन गर्नुभएको हो ।

गायक सन्तोष बस्यालको यसअघि ‘मैले तिमीलाई माया गर्दा’, ‘रेशम फिरीरी’, ‘ढाट्यो मायाले’, ‘एउटै मुटु’ लगायतका गीत सार्वजनिक भइसकेका छन् । छिट्टै नै बस्यालको संगीत र आवाज रहेको ‘बस है प्यारी’ सार्वजनिक हुँदैछ । छायाँकनको काम सकेर सम्पादन कार्य भइरहेको बस्यालले जानकारी गराउनुभयो ।

Facebook Comments Box