गरिमा विकास बैंकको अध्यक्ष श्यामप्रसाद बस्याल चयन, १४औं वार्षिक साधारण सभा सम्पन्न

गरिमा विकास बैंकको १४औं वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । साथै साधारणसभा सम्पन्न भए पश्चात बसेको विकास बैंकको सञ्चालक समितीको बैठकले स्याङजाका सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्ष बस्यालले नेपाल राष्ट्र बैंकका गर्भनरसँग समय लिएर सपथ ग्रहण हुने जानकारी दिदै संचालक समतिमा निर्वाचित सदस्यहरुले आफूलाई अध्यक्षमा चयन गरेकोमा उनले धन्यवाद पनि प्रकट गरे।
यसअघी बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र२०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १३.५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।


सभामा वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह, आर्थिक वर्ष २०७७र२०७८ का लागि लेखा परिक्षकको नियुक्ती लगायतका विषयमा छलफल गरि पारित गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले बताए ।
बैंकको १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् ।
३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन ।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।

Facebook Comments Box