कास्की काँग्रेसद्वारा कोरोना संक्रमितका लागि एम्बुलेन्स सञ्चालन

पोखरा । नेपाली काँग्रेस कास्कीले आजदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीका सबै इकाइलाई समस्यामा परेकाहरुलाई अस्पतालसम्म ल्याउनका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ ।
हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलकी प्रवन्ध निर्देशक एवं नेपाली काँग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई वटा फोर्स गाडी उपलब्ध गराउनुभएको हो । उहाँले गाडीको चावि नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटलाई हस्तान्तरण गर्नुभयो ।
कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले पोखराको चाउथेबाट शनिवार साँझ एम्बुलेन्स सेवा शुभारम्भ गरिएकोे जानकारी दिनुभयो ।
कास्की काँग्रेसका सचिव देवेन्द्र रानाभाट, प्रवक्ता नवीन सिग्देल र नेपाली काँग्रेस क्षेत्र नं १९ख० सभापति कृष्ण कोइराला र समाजसेवी धुर्व थापाको उपस्थितिमा सेवा शुभारम्भ गरिएको छ। एम्बुलेन्सका रुपमा पार्टीले ग÷३÷च ८८२ र ग÷३÷च २२६० नम्बरका गाडी संचालन गरेको छ ।
एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिहरुले पार्टी सचिव देवेन्द्र रानाभाटको मोवाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गरि समन्वय सकिने छ । कास्की काँग्रेसको वैशाख २६ गतेको बैठकले एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Facebook Comments Box