काँग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी

पोखरा । पोखरा महानगरपालिकामा सुरेन्द्रमान बिजुक्छे नेपाली काँग्रेसको नगर सभापतिमा निर्वाचित हुनुभएको छ । काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनबाट बिजुक्छे सभापतिमा निर्वाचित हुनुभएको हो ।

आइतबार बिहान घोषित मत परिणामअनुसार उहाँले ४१४ मत प्राप्त गर्नुभएको हो । कुल १३ सय ४४ मत खसेकोमा प्रत्यासी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गर्नुभयो । महानगरको सभापति पदमा ६ जनाले उम्मेदवारी दिनुभएको थियो । जसमा अन्य उम्मेदवार रामराज लामिछाने, मिलन तिवारी , मोहन बास्तोला र ज्योति हमाल हुनुहुन्थ्यो ।

पोखरा उद्योग वाणिज्य सङ्घको महासचिव समेत रहनुभएका बिजुक्छे यसअघि नेपाली काँग्रेसको पोखरा महानगरको उपसभापति हुनुहुन्थ्यो ।

यसै गरी उपसभापतिमा ५६९ मत प्राप्त गर्दै प्रयागराज भण्डारी र ४६४ मत प्राप्त गर्दै भवसागर बराल निर्वाचित हुनुभएको छ । उपसभापतिका ६ जनाले उम्मेदवारी दिनुभएको थियो ।
जसमा अन्य उम्मेदवार निर्दोशविक्रम पौडेल , राजेन्द्र बराल , कृष्णप्रसाद अधिकारी र शिव केसी हुनुहुन्थ्यो ।
दुई जना निर्वाचित हुने महानगरको सचिवमा टुवराज बास्तोला र गणेशबहादुर थापा विजयी हुनुभयो । बाँस्तोलाले ८५८ मत र थापाले ७८९ मत प्राप्त गर्नुभयो । सचिवमा ३ जनाले उम्मेदवारी दिनुभएको थियो । सचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६२१ मत प्राप्त गर्नुभयो ।

सहसचिवमा ५८० मत प्राप्त गर्दै संघर्ष कोइराला र ४६५ मत प्राप्त गर्दै सञ्जय आले निर्वाचित हुनुभयो । सहसचिवमा ६ जनाले उम्मेदवारी दिनुभएको थियो । जसमा अन्य उम्मेदवार नरेन्द्र बास्तोला , पुष्पराज सिग्देल , रवीन कायस्थ , लक्ष्मी बास्तोला हुनुहुन्थ्यो ।

Facebook Comments Box