काँग्रेसका शुभेच्छुक संघद्वारा पोखरामा प्रदर्शन

पोखरा । प्रतिनिधि सभा विघटनको विरुद्ध पेशाकर्मी तथा श्रमजिवीहरुद्वारा पोखरामा शनिबार विरोध प्रदर्शन भएको छ ।
नेपाली कांग्रेस कास्कीका शुभेच्छुक संघ संस्थाहरुद्वारा संयुक्त रुपमा आयोजना गरिएको प्रदर्शन पृथ्वीचोकदेखि सृजनाचोकसम्म गरिएको छ।
प्रदर्शनपछि सृजनाचोकमा आयोजित विरोध सभामा बोल्दै पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक कदम विरुद्व सबै नेपाली एकजुट हुनु पर्ने बताए । उनले कम्युनिष्टले सडक र सत्ताबाट आतंक मच्याए पनि नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले जनताको हक हित र न्यायको लागि सदा लड्ने भएकोले सम्पूणर् नेपाली जनता विचलित नहुन आग्रह गरेका थिए।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले सर्वसत्तावाद विरुद्व काँग्रेसले जनताका बीचमा संघर्ष जारी राख्ने बताए ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सभापति विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष शंकरबहादुर खत्रीले सञ्चालन गरेका थिए ।
प्रतिनिधि सभा विघटनको विरोधमा शनिवार शुभेच्छुक संघ संस्थाले संयुक्तरुमा देशभर विरोध प्रदर्शन गरेका छन्।

Facebook Comments