कर्मचारी हितका लागि गरिएका सहमति कार्यान्वयन गर्न वडाध्यक्षहरुको माग

पोखरा । पोखरा महानगरपालिका दलको नेता तथा सचेतक (ने.का) रामराज लामिछानेले बिहीबार विज्ञप्ति प्रकाशित गरी कर्मचारीको हितका लागि विगतमा गरिएका सहमति कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

नगर सभाको दिन बिहान पोखरा महानगरपालिकाका प्रमुखको कार्य कक्षमा उहाँकै अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत, दुवै दलका नेता तथा सचेतक, प्रवक्ता , ने.कातर्फ दलका उप–नेता र प्रशासन प्रमुख बीच कर्मचारी हितको विषयमा गरिएका सहमतिलाई तोडमोड गरिएकोमा आपत्ती जनाइएको छ ।

सहमति कार्यान्वयन गर्नुको साटो प्रमुख प्रशासकीय अधिकृतबाट तोडमोड गरी सहमति कार्यान्वयन नगर्ने खालको गतिविधि गरिएको भन्दै आपत्ती जनाइएको छ ।

विज्ञप्तिमा विगत २०–२२ वर्ष देखि अस्थायी, करारमा रही कार्यरत सबै कर्मचारीहरुलाई योग्यताका आधारमा तत्काल स्थायी गर्न, स्थानीय तहका कर्मचारीहरुलाई एक तह बढुवा गरी समायोजन गर्न माग गरिएको छ ।

त्यस्तै, स्थायी पदमा कार्यरत कर्मचारीहरुले पाउने अवकास सुविधा साविकको स्थानीय निकायले प्रदान गरेको भन्दा कम नहुने गरी संशोधन गर्न र अस्थायी, करार, सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुले पाउने अवकास सुविधा ज्यादै न्युन भएकाले एकमुष्ट उचित रकम दिने व्यवस्था गर्न माग गरिएको छ ।

विज्ञप्तिमा आफूहरु सदैव कर्मचारीको हितको पक्षमा रहेकाले कर्मचारीको मनोबल उच्च बनाउनुपर्ने उल्लेख छ ।

Facebook Comments Box