कथासङ्ग्रह ‘उठ तिलोत्तमा’ लिएर आए साहित्यकार शशी थापा पण्डित

काठमाडौँ, साहित्यकार शशी थापा पण्डितको पहिलो कथासङ्ग्रह ‘उठ तिलोत्तमा’ भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ ।
कृति सार्वजनिक कार्यक्रमको प्रमुख आतिथ्यता लघुकथाकार महेश प्रसाईले गरेका थिए । साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा बालसाहित्यकार प्रमोद प्रधान, साहित्यकार तीर्थ थापा, समालोचक ज्ञानु अधिकारी, कथाकारकी आमा दुर्गाकुमारी थापालगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा लघुकथाकार महेश प्रसाईले संग्रहमा समावेश कथाले नारीचेत बोकेको उल्लेख गरे । अहिले धेरै तिलोत्तमाहरु यौन हिंसा, घरेलु हिंसा, दमित र शोसित भइरहेको अवस्थामा पीडितको आवाज कथाले बोलेको उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि तथा साहित्यकार राधेश्याम लेकालीले शशी थापा पण्डित कथाकारको रुपमा उदाएकोमा बधाई दिए । थापाले फरक फरक विधामा कलम चलाउँदै आएको उल्लेख गर्दै साहित्यकारले फरक विधा लेखे पनि एक विधालाई आफ्नो विधा बनाउनु पर्ने उल्लेख गरे । थापाका रचना काल्पनिक वा साहित्यिक मात्रै नभएर अनुसन्धानात्मक हुने पनि उनले बताए ।
कृतिको बारेमा विस्तृत समीक्षा गर्दै समालोचक ज्ञानु अधिकारीले पौराणिक पात्रलाई आधुनिक कथामा ढालेर शशी थापा पण्डितले उत्कृष्ठ कथा प्रस्तुत गरेको बताइन् । आधुनिक समाजको कथा, व्यथालाई पौराणिक पात्रबाट भनाएर आफू जोगिने गज्जवको उपाय लगाएको भन्दै कथाकारको प्रशंसा गरिन् । पौराणिक घटना, संस्कृति, समाज र नारी चेत लगायतका विषयमा केन्द्रित १५ वटा कथाहरु संग्रहमा रहेको उनले बताइन् ।
कार्यक्रममा सहभागीलाई कथाकारका पति कुमार पण्डितले स्वागत गरेका थिए भने कार्यक्रमलाई साहित्यकार तथा समाजसेवी सरु सुवेदीले सञ्चालन गरेकी थिइन् ।
थापाका यसअघि तीन वटा कविता संग्रह र अनुसन्धानात्मक कृतिहरु प्रकाशित भइसकेका छन् भने ‘उठ तिलोत्तमा’ उनको चौथो कृति हो । यो पुस्तकलाई युरेका पब्लिकेशनले प्रकाशन गरेको हो ।

Facebook Comments