कञ्चन पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र केबी राना पुरस्कृत

पोखरा । कञ्चन पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र केबी राना पुरस्कृत भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २२ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा बुधबार पोखरामा आयोजित कार्यक्रममा पोखराकी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबी राना मगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खडकबहादुर कुमाल, पुरस्कारदाता बिमलमान गुभाजु, फोनिज गण्डकी प्रदेश अध्यक्ष एमबी आस्थालगायतले नगद २५÷२५ हजार सहित दोषल्ला र सम्मापत्रले सम्मान गरेका थिए । आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमा कलम चलाएबापत पुरस्कृत गरिएको फोनिज गण्डकी प्रदेशले जनाएको छ ।

सम्मानित गुरुङ लामो समयदेखि रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरमा कार्यरत हुनुहुन्छ । उहाँ पत्रकारिता सँगै गायन क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । सामाजिक भावनाकी गुरुङ विभिन्न संघ संस्थामा विभिन्न पदमा रहेर काम गरिरहनु भएको छ ।

नवलपुरका रानासँग रेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिक लगायत दर्जनौ मिडिया हाउसमा कार्य अनुभव छ । मध्य नेपालमै पहिलो स्थानीय टेलिभिजन देवचुली टेलिभिजनको संस्थापक, सामुदायिक रेडियो मध्यविन्दु एफ एमको संस्थापक तथा तथा स्टेशन संयोजक तथा सल्लाहकार लगायत धेरै सामाजिक संस्थामा विभिन्न पदमा रहेका काम गरिरहनु भएको छ ।

सम्मानित भएपछि पत्रकारद्वय गुरुङ र रानाले पुरस्कारले पत्रकारिताको क्षेत्रमा कलम चलाईरहन थप हौषला प्रदान गरेको बताएका छन् । साथै उनीहरुले जीवनपर्यन्त कलम चलाईरहने बाचासमेत गरेका छन् । रानाले पुरस्कार वापत पाएको २५ हजारमा उती नै रकम थपेर आफ्नी ५ महिने छोरीको सम्झनामा कोरोनाबाट ज्यान गुमाएका तथा पिडित बालबालिका तथा परिवारलाई सहयोग गर्ने घोषणा पनि गर्नुभयो ।
पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजुसहित उहाँको परिवारले पिता स्वर्गिय वेदमान गुभाजु र माता नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापना गरिएको पुरस्कार दोस्रो पटक अर्पण गरिएको हो । कार्यक्रममा गुभाजु परिवारले पुरस्कारका लागि थप १ लाख अक्षय कोषमा थप्ने घोषणा पश्चात अब पुरस्कारको अक्षयकोष ७ लाख पुगेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको सम्पती जनजाती, धर्म, संस्कृति प्रदेशको गहना भएका कारण विषेश रुपमा स्थान दिइएको बताउदैं प्रदेशमा भएका धर्म संस्कतिलाई समेट्दै धार्मिक पर्यटनमा जोड दिने जनाउनुभयो । उहाँले गुरुङ जातीको उद्गम थलो क्होलासोंथार, लिगलिगकोट जस्ता महत्वपूर्ण स्थानहरुलाई विश्व सम्पदा सुचीमा राख्न पहल भइरहेको जनाउनुभयो । आदिवासी जनजाती पक्षबाट आउने सुझावलाई सकरात्कम रुपमा लिंदै त्यसैको आधारमा अगाडि बढ्ने उहाँको भनाई थियो ।

पहिलो चरणमा निशुल्क खोपका लागि बजेट छुट्याएपनि सिधैं प्रदेशले खोप ल्याउन पाउने अधिकार नभएका कारण संभव नभएको मुख्यमन्त्री पोखरेलले बताउनु भयो । तथापी संघ सरकारसँग समन्वय गरी प्रदेशका जनतालाई पूर्ण खोप सुनिश्चित बनाउने अभियान जारी रहेको उहाँको भनाई छ ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमालले पुरस्कृत व्याक्तित्वलाई बधाइ दिदैं फोनिजलाई यस्तो किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्दै प्रदेश सरकारले फोनिज गण्डकीका लागि ५ लाख रुपैयाँ रातो किताबमा राखेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले रकम सानो भएपनि सिड मनीको रुपमा राखेर राम्रा राम्रा कार्यक्रम ल्याउन सके पछिल्ला दिनमा सहज बताउनुभयो । यो पटक रातो किताबमा राखिएको शिर्षक आगामी वर्षहरुमा कुनै पनि सरकाले कुनै पनि बहानामा हटाउन नसक्ने उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकार महासंघ र फोनिज सँगसँगै रहेको बताउदैं स्थानिय, प्रदेश र केन्द्र सरकारले आदिवासी जनजाति, महिला, बालबालिकाका लागि बजेट छुट्याउन हात कमाउन नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले आदिवासी जनजातिको मुद्धालाई साझा मुद्धा बनाएर आवाज उठाउन नेपाल पत्रकार महासंघ फोनिजसँगै रहेको बताउनु भयो ।

कार्यक्रममा फोनिज गण्डकी प्रदेशका इन्चार्ज हुमबहादुर गुरुङले पुरस्कृति व्याक्तित्वद्वयको परिचय दिदै फोनिजको स्थापनाको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

फोनिज गण्डकी प्रदेशका उपाध्यक्ष दील शिरिषले पुरस्कारदाताहरुको सहयोगी मनकै कारण पुरस्कार सम्भव भएको बताउनु भयो । पछिल्लो समय पुरस्कारको अस्वस्थ प्रतिस्पर्धाका बिच फोनिजले पुरस्कारलाई कुनै त्रुटी बिना संचालन गरेको उहाँको भनाइ थियो ।

फोनिज गण्डकी प्रदेशका महासचिव रुद्र शिरिष मगरले फोनिजको स्थापना दिवशमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा आदिवासी जनजातीको मुद्धामा पत्रकारहरु खरो रुपमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

Facebook Comments Box