अल्फा एकेडेमीमा वक्तृत्वकला सम्पन्न

लेखनाथ । अल्फा एकेडेमी, लेखनाथमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत र माध्यमिक गरी दुई तहमा विभाजन गरिएको उक्त प्रतियोगितामा कुल ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा आधारभूत तहअन्तर्गत कक्षा सातकी योग्यता ढुङ्गाना प्रथम, कक्षा पाँचकी अदिती पौडेल द्वितीय, कक्षा छकी दिया बास्तोला तृतीय र कक्षा पाँचकी प्रिसी त्रिपाठी चतुर्थ भएका थिए । त्यसैगरी माध्यमिक तहतर्फ कक्षा नौका छात्र आदेश भण्डारी प्रथम भएका छन् । सो समूहबाट कक्षा आठकी प्रियङ्का पतानी द्वितीय, कक्षा आठकै निकिता न्यौपाने तृतीय र कक्षा दसकी विपना अधिकारी चतुर्थ स्थान ओगट्न सफल भएका छन् ।
उक्त प्रतियोगितामा तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो । नेपाली भाषा शिक्षक परिषद्, कास्कीका पूर्व अध्यक्ष लोकचन्द्र खनालको संयोजकत्वमा रहेको उक्त निर्वाचन मण्डलमा विद्यालयको शैक्षिक समितिका संयोजक ईश्वरीप्रसाद अधिकारी र शिक्षिका ज्योति रानाभाट सदस्यका रूपमा रहेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि विद्यालयले यस प्रकारका कार्यक्रम सञ्चालन गरेर बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गरेकामा खुसी व्यक्त गर्नुभयो । निर्णायक मण्डलका सदस्य ईश्वरीप्रसाद अधिकारीले बालबालिकाले बन्दाबन्दीको समयमा पनि राम्रो तयारी गरेर कार्यक्रममा सहभागी भएकामा प्रशंसा गर्नुभयो । उहाँले वक्तृताको महŒवका बारेमा उल्लेख गर्दै भविष्यमा योग्य नागरिक बन्नका लागि बालबालिकामा बोल्ने कलाको विकास अनिवार्य रहेको विचार राख्नुभयो ।
प्रतियोगिताको निर्णय प्रस्तुत गर्दै निर्णायक मण्डलका संयोजक खनालले पढाइ सँगसँगै गरिने यस प्रकारका कार्यक्रमले बालबालिकाको भाषिक र व्यक्तित्व विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने कुरा उल्लेख गर्दै बन्दाबन्दीको समयमा पनि विद्यालयले भाषाको विषयलाई महŒव दिएर कार्यक्रम आयोजना गरेकामा खुसी व्यक्त गर्नुभयो ।
सभापतिको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक रमेशराज पौडेलले बन्दाबन्दीको समयमा पनि सिकाइ क्रियाकलापलाई विद्यालयले निरन्तरता दिइरहेको बताउँदै कार्यक्रममा उल्लेख्य सहभागिता रहेको र सन्तोषजनक प्रस्तुति दिएकामा विद्यार्थीलाई धन्यवाद दिनुभयो । उहाँले विद्यालयले आगामी समयमा पनि यस प्रकारका कार्यक्रम आयोजना गर्दै जाने बताउँदै हरेक कार्यक्रममा सहभागी भएर सिकाइ क्रियाकलापमा सक्रियतापूर्वक सहभागी हुन विद्यार्थीहरूलाई विशेष अनुरोध गर्नुभयो ।
विद्यालयकी शिक्षिका पार्वती पतानीले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक विश्वप्रकाश भट्टराईले गर्नु भएको थियो । विद्यालयले प्रविधिको समुचित प्रयोग गरी यस प्रकारका कार्यक्रम गर्दै आएको विद्यालयका प्रविधि संयोजक विदुर पराजुलीले जानकारी दिनुभयो ।

Facebook Comments Box