पोखरा । गायक नेशन पुनको नयाँ गीत ‘चैतको डढेलो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उहाँले पोखराबाट गीतको भिडियो सार्वजनिक गर्नुभएको हो ।
डिजिटल बजारमा नेशनको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो ।
गीतमा डेकेन्द्र श्रेष्ठको शब्द र श्याम महर्जनको संगीत छ । विशन थापाले निर्देशन गरेको भिडियोमा नेशनसँगै सुष्मी पुन फिचर्ड छन् । म्याग्दीको घोरेपानी क्षेत्रमा छायांकन भएको भिडियोमा त्यहाँको जीवनशैली उतारिएको छ ।
‘उता भने चैतको डढेलोले वन खायो
यता भने तिम्रै पिरतीले मन खायो…’
गीतमा तामाङ सेलो र रक फ्युजन गरिएको छ । ‘चैतको डढेलो’ बाट आशावादी रहेको नेशन बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेको ट्रेन्डमा यस्ता खालका गीत हराइसक्यो । तामाङ सेलो र रकको फ्युजन भएकाले रुचाउनुहुनेछ ।’
नेशन नेपाल आइडलको उत्कृष्ट ५ मा पर्न सफल हुनुभएको थियो । त्यसपछि उहाँको सांगीतिक करियर उकालो लागेको हो ।