
सप्तकोसी नदीमा आएको बाढीले विस्थापितहरूका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विस्थापित करिब १५ सय परिवारका लागि पहिलो चरणमा नौ हजार केजी चामल, एक हजार पाँच सय केजी दाल, तीन सय लिटर खानेतेल र ६ सय केजी नुन राहतस्वरूप पठाएको हो।
बुधबार प्रदेश १ को उदयपुर जिल्लाको बेलका नगरपालिकामा सप्तकोसी नदीले धार परिवर्तन गरेर मानवबस्ती जलमग्न बनाएपछि त्यहाँ बसोवास गर्दै आएका करिब एक हजार पाँच सय परिवार विस्थापित भएका थिए। बुधबार नै बाढी प्रभावित स्थानको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीलगायत प्रदेश विपत् व्यवस्थापन समितिका उच्च अधिकारीहरूले अवलोकन गरेका थिए।
अवलोकनपछि मन्त्रीको निर्देशनअनुसार बुधबार राति नै राहत सामग्री लगेर बेलका नगरपालिकालाई हस्तान्तरण गरेको मन्त्रालयको विपत् व्यवस्थापन शाखाका अधिकृत देवराज भट्टराईले बताए। उनका अनुसार उक्त राहत सामग्री नगरपालिकाले एकद्वार प्रणालीबाट पीडितहरूलाई वितरण गर्नेछ।