नेपालका ६ वटा महानगरका मेयरहरूले पोखराको अन्नपूर्ण केबलकारको अवलोकन गरेका छन् । अन्नपूर्ण केबलकारको निमन्त्रणामा पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा शनिबार ६ वटा महानगरका मेयरहरूले उक्त केबलकार अवलोकन गरेको अन्नपूर्ण केवलकार प्रालिका जनरल म्यानेजर दिनेश पौडेलले बताए ।
मेयरहरूलाई तल्लो स्टेसन हुँदै केबलकारबाट सयर गराउँदै माथिल्लो स्टेसनसम्म पुर्याइएको पौडेलले बताए । माथिल्लो स्टेसनमा भने पोखरा महानगरपालिका–१८ र स्थानीयले मेयरहरूको टोलीलाई पन्चै बाजागाजासहित फुलमालाले स्वागत गरेका थिए । आफ्नो क्षेत्रमा देशकै महानगरका प्रमुखहरूलाई पाउनुमा आफूहरू निकै खुसी हुँदै उनीहरूका लागि स्वागत सत्कार गरिएको पोखरा–१८ का वडा अध्यक्ष शिव तिमिल्सिनाले बताए । पोखराको नयाँ पर्यटकीय गन्तव्य भएकाले मेयर सम्मेलनको अवसरमा देशकै ६ वटा मेयरलाई आफ्नो ठाउँमा भ्रमण गराउँदै केबलकारको थप प्रवद्र्धन हुने कम्पनीले विश्वास लिएको छ ।
उक्त केबलकारमा पोखराका मेयर आचार्यसहित ललितपुरका मेयर चिरिबाबु महर्जन, काठमाडौंका मेयर वालेन शाह, विराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेणु दाहाल र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अवलोकन गरेका थिए । हालै निर्माण भएको अन्नपूर्ण केबलकारव्यावसायिक रूपमा गत फागुन ६ गतेदेखि सञ्चालनमा आएको हो ।
फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट डाडाँमा पुग्न सकिन्छ । नेपालीहरूका लागि केबलकारमा जाने र आउने शुल्कस् ७ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
उक्त परियोजनामा हाल करिब २ अर्ब लगानी भएको पौडेलले जनाए । २।४ किलोमिटर दूरीमा हाल १८ वटा टावर रहेका छन भने एक सामान बोक्नेसहित १८ वटै गुण्डला (डिब्बा) जडान भएको जनरल म्यानेजर पौडेलले बताए । प्रतिडिब्बामा ८ जनाको सिट क्षेमता छ भने प्रतिघण्टा ५ सय जनायात्रु ओहोर दोहोर गर्न सकिने भएको उनले जनाए ।